रामराज्य अर्थात् वर्ण व्यवस्थासहितको आदर्श राज्य

रक्षाराम हरिजन
२०७७ भदौ ३ बुधबार

मनुस्मृतिमा यस्तो धर्मको कल्पना गरिएको छ, जुन धर्ममा एउटा जाति र वर्गविशेषको अनन्तकालसम्म प्रभुत्व सम्भव छ |

धर्मनिरपेक्ष राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट ५ मा अयोध्यामा आयोजित राम मन्दिरको शिलान्यास (भूमिपूजन)लाई ऐतिहासिक क्षणको रूपमा प्रस्तुत गरी दीप प्रज्वलन गरे । मोदी द्वापरयुगका रामको गुणगान गर्दै रामकालीन मूल्य एवं मान्यतामा आधुनिक भारतलाई हिँडाउन खोज्दै छन् । एउटा धर्मनिरपेक्ष राज्यका सरकार प्रमुखले कुनै एक धर्मलाई प्रवद्र्धन गर्न मिल्छ वा मिल्दैन, त्यो बहसकै विषय हो । अंग्रेजहरूको औपनिवेशक शासनबाट भारतलाई स्वाधीन बनाउन अग्रणी भूमिका खेलेका स्वतन्त्रता संग्रामका महानायक महात्मा गान्धी स्वतन्त्रता आन्दोलनसँगै भारतलाई रामराज्य बनाउने परिकल्पना पनि गर्दथे । पछि उनले भारतका राष्ट्रपिताको उपाधि पाए । कृषिमा आधारित स्वतन्त्र अर्थतन्त्रका पक्षधर गान्धी जातिप्रथा र वर्ण व्यवस्थामा भने दोष देख्दैनथे । तर, विभेदी राज्य समतामूलक, न्यायपूर्ण र सभ्य समाज कसरी कहलिन सक्दो हो ? यसको उत्तर भने गान्धीले मात्रै होइन, अरू कसैले आजपर्यन्त दिएका छैनन् ।

अर्का भारतीय स्वतन्त्रता सेनानी डा. भीमराव अम्बेडकर भारतलाई अंग्रेज शासकबाट स्वतन्त्र बनाउन मात्र लडेनन्, ‘जाति व्यवस्थाको विष’बाट उत्पन्न सामाजिक असमानतालाई समूल नष्ट गर्ने संघर्षमा पनि लागे । उनले यस्तो समाजको परिकल्पना गरेका थिए, जहाँ सम्पूर्ण मानिसले स्वतन्त्रता, समता, बन्धुत्व र राष्ट्रवादको संकल्पलाई आत्मसात् गरेको होस् । जातिप्रथाको विषयमा गान्धी र अम्बेडकरबीच ठूलो भिन्नता थियो ।

गान्धीले ‘हरिजन’ नामक एक पत्रिकामा सन् १९३६ अगस्ट १५ मा प्रकाशित ‘वर्ण बनाम जाति’ नामक लेखमार्फत जातिप्रथाको बचाउ गरेका छन् । उनी वेद र मनुस्मृतिमा उल्लेखित वर्ण व्यवस्थालाई हिन्दू सामाजिक व्यवस्थाको मुटु मान्छन् । गान्धीले जाति व्यवस्थालाई उन्मूलन गर्नुपर्छ भन्ने अम्बेडकरको भनाइमा असहमति जनाएका छन् । गान्धीको तर्क थियो– जो मुसलमान कुरान खारेज गर्छन्, ती मुसलमान कसरी रहन्छन् वा जो इसाई बाइबल खारेज गर्छन् ती इसाई कसरी रहन सक्छन् ? उनले हिन्दू हुनका लागि जाति एवं वर्ण व्यवस्थालाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए ।

मनुले आफ्नो ग्रन्थ मनुस्मृतिमा यस्तो धर्मको कल्पना गरेका छन्, जुन धर्ममा एउटा जाति र वर्गविशेषको अनन्तकालसम्म प्रभुत्व सम्भव छ । मनुको सर्वाेत्कृट परिकल्पनाले प्रबन्धन गरेको भनिएको कथित आदर्श समाजको ढाँचा चतुर्वण्र्य अर्थात् वर्ण व्यवस्था थियो । त्यही आदर्श समाजका आधारमा चल्ने राज्य व्यवस्था गान्धीको अर्थमा ‘रामराज्य’ हुन सक्थ्यो, जसलाई वेदसँग जोडिएको छ । वेदलाई तर्कातीत मानिन्छ, वेदको कुनै पनि शब्दमाथि प्रश्नचिह्न लगाउन बन्देज छ । यसकारण आदर्श समाजको नमुना रूपमा (चतुर्वर्णय) वर्ण व्यवस्था पनि तर्कातीत मानिन्छ र त्यसमाथि प्रश्नचिह्न उठाउन सकिँदैन ।

आजको मुख्य आवश्यकता रामराज्यको होइन, समतामूलक समाजको हो । समतामूलक समाज निर्माणले मात्रै नेपाल समृद्ध हुन्छ । किनकि, त्यहीँ मात्रै गरिब, दलित, आदिवासी र पछाडि पारिएका सीमान्तकृतहरूले सास फेर्ने र मूल प्रवाहमा आउने बाटो पाउँछन् ।

मनुवादी आदर्श समाजको केही कठोर नियम थिए । चतुर्वण्र्यको नियमलाई भगवान्ले बनाएको नियमको रूपमा हेरिन्छ । पहिलो नियम, समाज चार भागमा विभक्त हुनुपर्छ– ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्र । दोस्रो नियम, यी चार वर्णमा सामाजिक समानता हुनुहुँदैन । ती सबैलाई क्रमिक असमानताको नियमले परस्पर बाँधिनुपर्छ । अर्थात्, ब्राह्मण सर्वाेपरि र समाजको सबैभन्दा माथिल्लो स्थानमा । ब्राह्मणभन्दा तल तर वैश्यभन्दा माथि क्षत्रीय, क्षत्रीयभन्दा तल वैश्य र वैश्यभन्दा मुनि र सबैभन्दा तल शूद्र । अर्थात्, वर्ण व्यवस्थाको हरेक माथिल्लो तह तल्लो तहभन्दा धेरै विशेषाधिकारयुक्त हुने र हरेक तल्लो तहमा सामाजिक विभेद, दलन र उत्पीडनको भारी बढ्दै जाने मनुनिर्मित वर्ण व्यवस्था अभेद्य उत्पीडनको प्रबन्धन थियो । तेस्रो नियम, पेसा तथा जीविकाको साधनसँग सम्बन्धित । ब्राह्मणको पेसा पढ्नु, पढाउनु तथा धार्मिक संस्कार गर्नु थियो । क्षत्रीयको पेसा राज्यको लागि लड्नु, मर्नु र मार्नु थियो । वैश्यको पेसा थियो, व्यापार । शूद्रको पेसा यी तीन वर्णको सेवा गर्नु थियो । चारवटा वर्णका व्यक्तिलाई आफ्नो मात्रै पेसा गर्ने अधिकार थियो ।

चौथो नियम शिक्षासँग सम्बन्धित थियो । वर्ण व्यवस्थाअनुसार ब्राह्मण, क्षत्रीय र वैश्यलाई मात्रै शिक्षाको अधिकार थियो । शूद्र र सबै जातिका महिलालाई शिक्षित हुन निषेधित थियो । पाँचौँ नियम, जीवनलाई चार हिस्सामा बाँडिएको थियो– ब्रह्मचार्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्न्यासाश्रम । यस नियमबाट शूद्र र महिलालाई सबै आश्रम निषेधित थियो । छैटौँ नियम, सजातीय विवाह थियो । प्रत्येक वर्णका व्यक्तिले आफ्नो वर्णका महिला–पुरुषसँग मात्रै विवाह गर्न सक्थे । अपितु, अब समाज अनेकौँ जातमा विभक्त भएर सजातीय विवाह मात्र गर्न सक्छन् । सातौँ नियम, आदर्श समाजले ‘जन्मवाद’लाई ग्रहण गर्छ । ‘कर्म’को सिद्धान्तलाई सर्वदा निरोध गर्दछ ।

वर्ण व्यवस्थामा आधारित आदर्श समाजका उपरोक्त नियमहरूको परिपालना गर्नु नै ‘रामराज्य’ हो । हिन्दू धर्मको महाकाव्य ‘रामायण’मा यही आदर्श समाजलाई रामराज्य भनिएको छ । रामायणमा भनिएको रामराज्यका केही दृष्टान्त हेरौँ । त्यहाँ महिलालाई स्वतन्त्रता र समानता थिएन । रावणले हरेकी सीताको चरित्रमाथि शंका गरिन्छ । शूद्रलाई शिक्षा निषेधित थियो । यस्तो रामराज्य, जहाँ एउटा शूद्रले वेद सुनेकोमा अपराधीकरण गरेर अत्यन्त अमानवीय र क्रूरतापूर्वक उसको कानमा सिसा (राङ नामक धातु) पगालेर हालिन्छ । शूद्र भएर पनि ज्ञान हासिल गर्ने शम्बुक ऋषिको हत्या स्वयं राम गर्छन् । यी प्रसंगले केवल शूद्रलाई रामराज्यमा शिक्षा, समानता, स्वतन्त्रता कुनै अधिकार नरहेको प्रस्ट हुन्छ । के गान्धीले यही ‘रामराज्य’ चाहेका थिए ?

अब हेरौँ, वर्तमान समयमा ‘रामराज्य’ । नेपालको संविधानले सबै समानता, स्वतन्त्रता प्रदान गरेको छ । तर, अहिले पनि मानिसको मस्तिष्कमा नेपालको संविधान वा कानुनले पूर्णतया शासन गर्न सकेको छैन । समाजको वास्तविक सञ्चालन मनुस्मृतिले नै गर्दै आएको छ । नत्र नवराज विक, अंगिरा पासी, शम्भू सदाहरू दलित भएकै कारण मारिने थिएनन् । यी अपराधमा राज्य, प्रहरी, जनप्रतिनिधि र समाजको अगुवाको त्यही मनुकालीन सोच र मनुस्मृतिको सामाजिक व्यवस्थाले आकार दिएको विचार र संस्कारको ठूलो भूमिका छ ।

नेपालमा दलित आन्दोलनको सन्दर्भमा सिरहा, सप्तरीमा सिनो बहिष्कार आन्दोलन गरेको दुई दशक बितिसक्यो । तर, अन्तरजातीय विवाह गर्ने आँट गरेका अजित मिजार, नवराजहरूको हत्या भएकै छ । अझै दलितलाई पानी छोएको निहुँमा कुटपिट हुन्छ र मन्दिर प्रवेशमा निषेध छ । राज्यले यी कुनैमा पर्याप्त हस्तक्षेप गरेको देखिँदैन । यसर्थ, किटानीसँग भन्न सकिन्छ, यो मुलुकमा र यहाँको समाजमा अहिले रामराज्य कायम छ । रामराज्यमा झैँ वर्णको आधारमा न्याय गरिन्छ । रामराज्यमा झैँ नै कुनै वर्ग र जातविशेषको श्रेष्ठता र प्रभुत्व कायम छ ।

गौतम बुद्धका अनुसार यो रामराज्यको व्यवस्था नियतवश थोरै व्यक्तिहरूको स्वार्थ पूर्तिका लागि निर्माण गरिएको सामाजिक व्यवस्था हो । कमजोरलाई दबाउने र उनीहरूको शोषण गर्ने यस व्यवस्थाको मूल उद्देश्य हो । र, सबैभन्दा खराब र सबैभन्दा ठूलो कुरा यो व्यवस्था भगवान्द्वारा रचित सामाजिक व्यवस्था मानिएकाले यसमा कुनै सुधार गर्न सकिँदैन, गर्न दिइँदैन ।

डा. अम्बेडकर रामराज्यको विरुद्ध थिए । किनकि, उनले यो व्यवस्थाभित्रको क्रूरता र कुरूपता देखेका थिए । अम्बेडकरले जाति व्यवस्थालाई अन्त्य गर्न दुईवटा विकल्प दिएका छन् । एउटा असमानतामा आधारित धार्मिक ग्रन्थलाई संशोधन गर्नुपर्छ, किनकि वेद वा मनुस्मृति धार्मिक ग्रन्थभन्दा बढी तत्कालीन व्यवस्थाको ऐन नियमको संहिता (कोडिफिकेसन) हो । संहिता वा कानुन समयानुसार परिवर्तनशील हुन्छ र परिवर्तन गरिरहनुपर्छ । अर्काे विकल्प, असमानतामा आधारित संहिता वा ग्रन्थको समूल नष्ट गर्नुपर्छ र समयसुहाउँदो धर्मग्रन्थको रचना गर्नुपर्छ । अतः संविधानमा धर्मनिरपेक्षता तथा स्वतन्त्रता लेख्दैमा प्रत्येक नागरिकको स्वतन्त्रता प्रत्याभूत हुन सक्दैन । आजको मुख्य आवश्यकता रामराज्यको होइन, समतामूलक समाजको हो । समतामूलक समाज निर्माणले मात्रै नेपाल समृद्ध हुन्छ । किनकि, त्यहीँ मात्रै गरिब, दलित, आदिवासी र पछाडि पारिएका सीमान्तकृतहरूले सास फेर्ने ठाउँ पाउँछन् र मूल प्रवाहमा आउने बाटो पाउँछन् ।

श्रोत: https://nayapatrikadaily.com/news-details/49528/2020-08-19

Leave a Comment

Your email address will not be published. Required fields are marked *