दर्नाल अवार्ड पाएपछि मेरो भनाई

सर्वप्रथम म दलित आन्दोलनका अविष्मरणीय योद्धा स्वर्गीय श्री सुभाष दर्नालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यो सामाजिक न्यायका लागि दर्नाल एवार्ड सहर्ष स्वीकार गर्दछु । मलाई यो सम्मानित पुरस्कारको लागि योग्य ठहर गरेकोमा दर्नाल एवार्ड समितिलाई हार्दिक धन्यवाद दिन्छु । म यस एवार्डलाई सम्पूर्ण दलित समुदायप्रति समर्पित गर्न चाहन्छु ।

आजको यो क्षणमा म अरुको घरखेतमा हलि बसेर भएपनि मलाई पढ्न र सामाजिक न्यायको क्षेत्रमा अग्रसर हुन सधैं उत्प्ररित गर्नुहुने मेरा बुवालाई हृदयदेखि नै धन्यवाद दिन्छु । उहाँहले सामाजिक उत्थान, विभेद विरुद्धको हरेक कार्यलाई सहयोग र समर्थन गर्नु भयो । यो विशेष क्षणमा मलाई डोर्याएर यहाँसम्म आउनका लागि अभिभावकत्व प्रदान गर्ने थर्ड एलायन्स र यसका पुर्व अध्यक्ष अधिवक्ता दिपेन्द्र झालाई हृदयदेखि धन्यवाद दिन चाहन्छ ।

स्वर्गीय सुभाष दर्नाल ज्युले छुवाछुतविरुद्ध गरेको कार्य सह्राहनीय छ । उहाँको लक्ष्य पूरा गर्नमा समेत आफूलाई पूर्ण रुपमा समर्पित गर्नेछु। नेपालमा विद्यमान असमानता, विभेद, छुवाछुत लगायतका कुरिती तथा कुसंगतिहरु हटाउन उहाँले सानै उमेरमा गरेको योगदान आम सामाजिक न्यायका अभियन्ताहरुका लागि प्रेरणाको स्रोत पनि हो ।

नेपालको दलित आन्दोलनमा अहिले पनि धेरै खाडलहरु रहेका छन् । दलित भित्रको विभेद, एकअर्का बिच सहअस्तित्वको अभाव, मधेसी दलित र महिलालाई समग्र राज्यले गरेको विभेद रहँदासम्म सामाजिक न्याय र समतामूलक समाजको परिकल्पना गर्न सकिँदैन । यो पुरस्कारले यस कार्यमा मलाई थप जिम्मेवार बनाएको छ ।

दलित आन्दोलनको अन्तिम लक्ष्य प्रत्येक व्यक्ति सम्मान र स्वाभिमानसाथ बाँच्न पाउनु नै हो । तसर्थ मैले यस कार्यलाई तराइ मधेशमा रहेका दलित युवाहरुलाई गोलबन्द गरी प्राज्ञिक बहसमार्फत् समग्र दलित आन्दोलनलाई अझ सशक्त तथा अलग तरिकाले लैजाने प्रयत्न गरिरहेका छौ । यस कार्यमा यहाँको सहयोग, सहकार्य र सल्लाहको अपेक्षा समेत गर्दछु।

यो अवार्डको केही राशी सामाजिक न्याय र समताको लागि दलित युवाहरुलाई “कानुन अध्ययनमा” समेत सहयोग गर्ने योजना बनाएको छु। यसका लागि तपाइँका सहयोगी हातहरुको अपेक्षा गर्दछु । जातीय विभेद, छुवाछुत, असमावेशी, असमानताका विरुद्ध सदैव अदालतको ढोका ढक्ढकाउने मेरो जिवन प्रयन्त अभियान हुनेछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *